Thursday, August 28, 2008

प्रेमपत्र



प्रिय दिल,
प्रिय दिल, दुर्भाग्य भनौँ या समयको बेगले हामी दुवैलाई भौगोलिक परिवेशबाटै अलग्याइदिएको छ र त आज म तिम्रो लागि अयोग्य ठहरिएको छु। तिम्रो सुन्दर सपनाभन्दा धेरै टाढा-टाढा भई एक्लो जीवन जिउन विवश छु प्रिय तै पनि यस विछोडिएको जिन्दगीलाई सँगाल्दै तिमीलाई अतीतका अविस्मरणीय क्षणहरूको सम्झना दिलाउँदैको पत्र कोर्न लागिरहेछु।प्रिय, तिमीलाई समयको अभाव होला र जिन्दगीको नौलो गोरेटोमा सुनौला सपनाहरू बोकिरहेकी हौली तर माफ गर मलाई। मैले तिमीलाई वाहियात दुःख दिनलाई मात्र पत्र लेखेको होइन। यो आत्माबाट निश्चितरूपमा प्रेमको यात्रामा धोका नहोला भनी विश्वस्त हुँदै प्राप्त प्रतिफललाई स्वीकार्दै जाँदा आज यो स्थिति आउला भनी मैले सपनामा समेत सोचेको थिइनँ, जुन तिमीले अनायासै पूरा गरिदियौ। त्यसैले तिमी नै मन प्रिय 'डी' तिमीलाई म कस्तो नारीको दर्जा राखौँ - कसैको पवित्र प्रेमको खातिर आफ्नो जिन्दगीको अस्तित्व, भविष्यको गोरेटो नै भुल्ने टुङ्गो प्रेमीलाई रुवाउने तिमी कुन शताब्दीको प्रेमिका हौ ? प्रिय 'डी', तिमीले दिएको असह्य पीडाले छातीमा हलचल जन्माउँदा अनायासै नयनमा छताछुल्ल पीडाका बाढीहरू बन्दछन्। हरेक पल हरेक क्षण त्यहाँ अतीतले झस्काइरहन्छ। शारीरिकरूपमा आरामै रहे पनि मानसिकरूपमा घाइते छु। तिम्रो बज्रपातले मेरो मायाको टुसालाई मारिदियो, कोपिलालाई झारिदियो। धन्य छ तिमीलाई, प्रेमको नाटक रचेर कति सजिलै त्यो नाटकलाई पर्दामा उतारी मलाई हारेको प्रेममा साबित गरी छाड्यौ। हो प्रिय, लामो जीवनको साँघुरो गोरेटोमा हातमा हात समाती सहारा दिएकै थिएँ। दुवैको एउटै गन्तव्य सम्झेको थिएँ, तिमीले आफ्नो गन्तव्य मबिना निर्णय पहिल्यायौ। अन्ततः म आफ्नो छुट्टै गन्तव्य पहिल्याउन विवश भएँ। यसरी हामी दुवै हिँड्ने बाटो अलग-अलग भए पनि अतीतका अविस्मरणीय क्षणहरूले बेलाबेलामा मलाई सताइरहन्छ। तिम्रो याद आउँछ। आएर पनि के गर्ने प्रिय ? अब त हामी दुवैबीच सञ्चारमाध्यम नै टुटिसकेको छ। अब त अतीतलाई सम्झनुको विकल्प केही छैन। तर पनि म हेर्दछु टाढासम्म... तिमी मुस्कुराउँदै हात हल्लाएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिन्जेलसम्म हेरुँला अनि बाहिरी आत्माले देख्नै छोडेपछि भित्री आत्माले हेरूँला। चीरआत्माले हेरूँला। तिमी बाँचुञ्जेलसम्म, जीवन यात्रा नटुङ्गिञ्जेलसम्म, आकाश धरती रहिरहेसम्म। अन्त्यमा तिम्रो दाम्पत्य जीवन सधैँ आजीवन भएर लाख-लाख वर्षबाँचिरहोस्। भीरपाखामा अटल भाव लालीगुराँस फुलेझैँ सधैँ फुलिरहोस्, मेरोतर्फबाट यही शुभकामना छ तिमीलाई। अरू त मलाई के नै चाहियो र अब अरू तिमी सधैँभरि फुलिरहने बाह्रैमासे सुवासले फूल बनी फुलिदेऊ ताकि सबैको प्यारो बनिदेऊ, त्यहाँ नै मेरो खुसीको दिन छ। चाहे म टुहुरो सधैँभरि नुनिलो आँसुको ढिस्को खसाउँदै सधैँ रुँदै बस्नु किन नपरोस्, आखिर मैले पाउनुपर्ने यति नै त रहेछ।
- महेन्द्र सारू 'असफल', देउराली-६, बुद्धचोक, नवलपरासी

2 comments:

एकल यात्री said...

मनबाट फुल्छ
अक्षरमा व्यक्त हुँदैन प्रेम ।
एक–दुईको धोकाले
आँसु झारी रूँदैन प्रेम ।

Anonymous said...

shaayad prem tyastai hola, tara kasaile pani yakin kaa saath yahi nai ho prem bhanera paribhashit garna sake ko bhaetiyeko chhaina....