Thursday, June 19, 2008

अबिष्मरणिय क्षण!





सधैँ घुम्ने बानीले गर्दा ......!
यो क्षण आजभन्दा नौ वर्षपहिलेको हो। त्यतिबेला म कक्षा ९ मा अध्ययनरत थिएँ। प्रकृतिप्रेमी थिएँ म। त्यसैले छुट्टी भएपछि गाउँभन्दा माथि डाँडामा बसी सधैँ टाढा-टाढा क्षितिजसँग आँखा जुधाउँथे। हरियाली वनपाखा, अनेकौँ डाँडापाखा अनि उत्तरपट्टि सेता शिखरहरू, त्यसै-त्यसै म आकर्षित भई सधैँ घुम्ने बानी परिसकेको थियो। अनि साँझपख त्यस प्यारो डाँडासँग भोलि आउने बिन्तीसँगै बिदा भएर घर आउँथेँ। यस्तै क्रममा दिन बित्यो, साता बित्यो। सधैँ झैँ एक दिन डाँडातिर लागेँ अनि प्रकृतिको काखमा रमाउँदै थिएँ। अचानक एकाएक निश्चल आकाश कालो बादलले ढाक्यो। सारा पृथ्वी नै अँध्यारो भयो। बादल यता-उता जोडले दौडिन थाल्यो। चट्याङका ठूला-ठूला स्वरले सारा धर्ती थर्कियो। त्यसबेला मेरो सारा शरीर निस्सासिएझैँ लाग्यो। हतार-हतार घरतर्फके आउन आँटेको थिएँ, आकाशबाट ठूला-ठूला कपुरका दानाजस्तै असिना बर्सन थाल्यो। म झन् आत्तिन थालेँ। मैले छिटो-छिटो पाइला बढाएँ तर झनै ठूला-ठूला असिनाले मलाई पिट्न थाल्यो। ओढार र रुखको फेद खोज्न पनि फुर्सद थिएन किनकि साँझ परिसकेको थियो। मुसलधारे पानी र असिनाले सारा शरीर छियाछिया भएझैँ लाग्यो। हतारको दौडाइमा १०-१२ पटकजति लड्न पुगेँ। दुखिरहेको पीडाले खेलौना हराएको बालकझैँ रुन मन लाग्यो। बल्ल-तल्ल घर आइपुगेपछि बल्ल सन्तोषको सास फेरेँ। घर आइपुगेपछि खान पनि मन लागेन। ज्यादै थाकेजस्तो अनुभव भयो। अनि ओछ्यानमा पल्टी मेरो घुम्ने बानीले गर्दा यस्तो भयो। मैले सोचेँ- आजकल जब कालो बादलसँगै चट्याङ गर्जिन्छ, तब अतीतले झस्क्याउँछ अनि वर्तमान र भविष्यमा पनि यही अविष्मरणीय क्षण दोहोरिइरहन्छ।

- राम 'अकेला' पुनमगर,

सालिजा- ६, पर्वत

No comments: