Saturday, July 12, 2008

यो अन्तिम युद्ध...


लेखक- लक्ष्मण गाम्नागे
विभिन्न जाति, पेसा र लिङ्गका अभुतपुर्व अनुहारहरू सभासद्मा छानिएर लोकतान्त्रिक संविधान लेख्ने तयारीमा छन् यसैक्रममा अचेल सञ्चारमाध्यमहरूमा केही रोमाञ्चक र चित्ताकर्ष तस्बिर अनि समाचारहरू आइरहेका छन्। ग्राहकको चोलो लाउँदासिलाउँदैकी दिदीको चोला अचानक बदलिएको छ। गलैचा बुन्दाबुन्दैकी भाउजूको भाग्य चम्किएको छ। जुत्ता पालिस गर्दागर्दैका दाइको दैनिकी बदलिएको, रिक्सा ठेल्दाठेल्दैका काकाको काचुली फेरिएको, गोरु जोत्दाजोत्दैका जेठाबाको जुनीले नया मोड लिएको आदि समाचार आएका छन्।
लुगा सिलाउने पेसा गर्ने दिदी अचानक विधायक भएपछि उनले आफ्ना छिमेकी ग्राहकको सम्झाउनी-बिर्साउनीको लागि अन्तिम चोलो सिउँदै गरेको समाचार छापामा पढ्न पाउँदा म बडो भावुक भएँ। गलैंचा बुन्दै गरेकी अर्की एउटी दिदीले टेलिभिजनका पत्रकारतिर हेर्न पनि नभ्याई गलैंचा बुन्दै गरेको दृश्य देख्दा लोकतन्त्र भनेको त यस्तो पो हुँदोरहेछ भनेर म भावविह्वल भएँ, नढाँटी भन्दै, म खुसीले रोएँ। दृश्य हेर्दा ती दिदी त्यो अन्तिम गलैंचा छिटोछिटो बुनिसकेर संविधान लेख्न जाने हतारमा भएझै“ लाग्थ्यो ।
भावुकतामा डुबिरहेकै बेला मलाई २०४८ सालको सम्झना भयो। त्यसबेला थुप्रै आर्श्चर्यलाग्दा अनुहारहरू सांसद भएका थिए। खुट्टामा भुक्के चप्पल, हल्लुँडको कालो लागेको जडौरी इस्टकोट, गोठ गनाउने कमिज-सुरुवाल, भूमिगत बसेका नरकटे ज्यान, जेल बसेका संघर्षसिल खपटे अनुहारहरू। त्यसखाले हुलिया लिएर सिंहदरबार पसेका थुप्रै जनप्रतिनिधिहरू त्यहाँबाट बाहिर निस्कदा कस्ता भएका थिए, त्यसको बेलिविस्तार लगाइराख्नु परोइन। उल्लिखित हुलिया त उनीहरूको जीवनको अन्तिम हुलिया रहेछ भन्ने हामीले छिट्टै थाहा पाएका थियौ।
त्यो सम्झेपछि मेरो भावुकता ह्वात्तै हरायो । मलाई लाग्यो, तिनीहरूले यत्रो वर्षा नगरेको काम यिनीहरूले चाहि“ गर्नैपर्छ भन्ने के छ यसअघिका सबैले मोज गरे, घडेरी किने, घर बनाए, गाडी किने, ब्याङ्क भरे । पड्केहरूले गाला चिल्याए, सा“प्रा र झोल हालेर आन्द्रभुँडी हिल्याए। कपाल लर्काए, बैंश फर्काए। के पो गरेनन् र यो सम्झेपछि सम्पूर्ण नया सभासद्लाई उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना दिन मन लाग्यो ।
म कामना गर्छु तपाईं गलैंचा बुन्ने दिदीको त्यो गलैंचा बुनाइ यो जुनीकै अन्तिम बुनाइ बनोस्। लुगा सिउने भाउजूले सिलाएको त्यो चोली उहा“का हातले सिलाएको जीवनकै अन्तिम चोली बनोस्। दुःखी पेसा गर्दागर्दै भाग्यवश राजधानी पस्ने र सभासद्को कुर्सी बस्ने अवसर पाउने तपाईंहरू सबैका ती दुःखी कामहरूको अन्त्येष्टि होस्। आइन्दा त्यस्ता लुगा सिउने, जुत्ता टाल्ने, चुरा बेच्ने, हलो जोत्ने, भारी बोक्ने, बच्चा पढाउने, रिक्सा तान्नेजस्ता फोहोरी काम छुनु नपरोस् । तपार्इंको पनि बङ्गला होस्, गाडी होस्, गार्ड होस्, नोकर-चाकर हुन्। ती पुराना बज्जेहरूको भन्दा बढी राम्रो होस्, फलिफापै-फलिफाप होस्।
कम्युनिस्ट अन्तराष्ट्रीय गीतमा भनिएझै गएको चुनाव नै तपाईंको जीवनको अन्तिम युद्ध होस् र यो विजय तपाईंको जीवनको अन्तिम विजय। शुभकामना !!!
साभार- नेपाली पत्रपत्रीका

No comments: